अ-विचार
सामाजिक सञ्जालमा हालसालै देखिएका केही राय वा टिप्पणीका उदाहरण यहाँ छन् — कतिपय मैले आफ्नै सामाजिक सञ्जालका पोस्टहरूमा भेटेका हुँ भने कतिपय स्क्रोल गर्दागर्दै आँखामा परेका हुन् :
"प्रधानमन्त्रीको आलोचना गर्नुहुँदैन, किनभने उहाँको नियत राम्रो छ र उहाँ नेपालको विकास गर्न चाहनुहुन्छ।" — "प्रधानमन्त्रीको आलोचना गर्नुहुँदैन, उहाँलाई एक पटक मौका त दिनुपर्छ।"
"मान्छे भर्खरै बित्नुभयो। अलिकति त सम्मान गरौं। उहाँको नियतमाथि प्रश्न गर्नु हुँदैन र यौन दुर्व्यवहारका आरोपलाई गम्भीरतापूर्वक लिनु हुँदैन।" — "यत्रो ठूलो खेलाडी मान्छेले आफ्नै करिअर जोखिममा पर्ने गरी त्यस्तो काम किन गर्थ्यो र ? उसलाई राम्रै थाहा हुन्थ्यो नि।"
"गुरुहरूको आलोचना गर्नुहुँदैन, र गुरुहरूमाथि प्रश्न गर्नुपर्छ भनेर धर्मको अपमान गर्नुहुँदैन।"
"धार्मिक आस्थाको अपमान नगर्नुहोस्; धार्मिक आस्थाका लागि अन्धविश्वास चाहिन्छ भन्दै पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सनातन धर्मविरुद्ध विष नछर्नुहोस्।"
"ब्रह्म नै परम सत्य र शुद्ध चेतना हो, किनभने अति प्राचीन वेद र उपनिषद्ले त्यसलाई लिपिबद्ध गरेका छन्।"
"आलोचनात्मक चिन्तन नकारात्मक सोच हो, यो सबैका लागि लाभदायक हुँदैन; यो त 'पश्चिमी' सोच हो, 'पूर्व'का हामीलाई सुहाउँदैन।"
"धर्म सधैं राम्रो हुन्छ। मान्छे नराम्रो हो।"
"हनुमान चालीसाले पृथ्वी र सूर्यबीचको दूरी सटीक रूपमा गणना गरेको थियो।"
नेपालमा मूलधार र लोकप्रिय मान्यतामाथि प्रश्न उठाउँदा धेरै सांस्कृतिक टिप्पणीकारले खेप्नुपर्ने सामान्य आलोचना र राय यिनै हुन्। यी सबै हतारमा, आत्मविश्वासका साथ नैतिक उपदेश दिन र केही कुरा ठोकुवा गर्न तम्सिन्छन् — तर आफूले किन त्यसो गरिरहेको हो भन्ने चेत नै हुँदैन। माथिका जस्ता टिप्पणी सरसर्ती हेर्दा शंका नगर्ने जोकोहीलाई "असल" र "कसैलाई बाधा नपुर्याउने" जस्ता लाग्न सक्छन्, कसैकसैलाई त "सामान्य ज्ञान" नै लाग्न सक्छ। तर यी विषयलाई गहिरो गरी र फरक-फरक कोणबाट सोच्नुभयो भने त्यस्ता भनाइमाथि प्रश्न गर्न तपाईं बाध्य हुनुहुनेछ — के ती भनाइ आफैंमा वैध छन् त ? निस्सन्देह, लोकतान्त्रिक समाजमा राय राख्ने "अधिकार" सबैलाई छ। त्यसैले त आजभोलि इन्टरनेटमा जे पनि खुलेआम बोल्ने, आलोचनात्मक कसीमा नखारिएका पोडकास्टको भीड देखिन्छ। तर राय बाँड्ने "अधिकार" हुनुको अर्थ राय “बाँड्नै पर्छ" भन्ने हो र ? कहिलेकाहीँ मलाई लाग्छ — कुनै विषयमा विभिन्न कोणबाट पर्याप्त गहिरो नसोचेको भए, सामूहिक हितका लागि हामीले आफ्नो थुतुनो बन्द गरे हुन्छ। यसो गर्दा पहिल्यै हल्लाले भरिएको सार्वजनिक वृत्तमा थप हल्ला थपिँदैन। तर पक्कै पनि, यो पनि मेरै राय हो। कसैको मुख थुन्ने मेरो मनसाय होइन; यो केवल सुझाव मात्र हो। मुख्य कुरा के हो भने — सतही रायभन्दा अलि सूक्ष्म र बहुआयामिक राय बनाउने प्रयास कम्तीमा गरौं; विशेषतः संवेदनशील र गम्भीर विषयमा। अनि त्यस्तो सूक्ष्म राय बनाएर पनि तपाईं गलत ठहरिनुभयो भने (मानिस प्रायः गलत हुन्छन्), त्यो कुरा खुलाउने र आफू गलत थिएँ भनी स्वीकार्ने बौद्धिक इमानदारी तपाईंमा हुनुपर्छ। त्यसपछिको पाइला भनेको आफ्नो राय सच्याउनु वा अद्यावधिक गर्नु हो। गलत हुनु ठीकै हो, तर कम्तीमा त्यसबारे इमानदार त बनौं, र आफू पनि गल्ती गर्न सक्ने प्राणी हो भन्ने चेत त राखौं। म व्यक्तिगत रूपमा त्यस्ता अन्धाधुन्ध रायलाई "अ-विचार" (नन-थट) भन्छु — माफ गर्नुहोला, तपाईंले भर्खर जे फलाक्नुभयो, त्यसबारे तपाईंले सोचेकै छैन। दुर्भाग्यवश, हामी अहिले "अ-विचार"को युगमा बाँचिरहेका छौं।
मैले अ-विचार भन्ने गरेको कुराको ठूलो हिस्सा भावनात्मक ह्युरिस्टिक्स (heuristics — मानसिक shortcut) र आफ्नो पहिचान जोगाउनुपर्ने आवश्यकतामा चल्छ। मनोवैज्ञानिक ड्यानियल काह्नेम्यान (Daniel Kahneman) र एमोस ट्भर्स्की (Amos Tversky) ले वर्णन गरेअनुसार, ह्युरिस्टिक्स भनेका वास्तविक संसारका घटना वा परिघटनाबारे कुनै निष्कर्षमा पुग्न मानव मस्तिष्कले प्रयोग गर्ने मानसिक सर्टकट (shortcut) हुन्। यी छिटो हुन्छन्, कम मिहिनेत माग्छन्, र "सामान्य ज्ञान" जस्ता लाग्छन्, किनभने विकासक्रम (evolution) को दृष्टिले तिनमा बाँच्नका लागि सहजबोधी लाभ छ। प्रकृतिले हामीलाई बाँच्नकै लागि ह्युरिस्टिक्स प्रयोग गर्ने गरी बनाएको र ढालेको हो — अँध्यारोमा झाडी हल्लियो भने त्यो हामीलाई हानि गर्न सक्ने कुनै सिकारी जनावर पनि हुन सक्छ, त्यसैले हामी या त भाग्छौं या लड्छौं। कदाचित् त्यो सर्सराहट साँच्चै कुनै सिकारी जनावरकै रहेछ भने द्रुत चिन्तनले हामीलाई बचाउन सक्छ। तर आधुनिक समाजमा त्यस्तो सम्भावना प्रायः अवास्तविक हुन्छ। झाडी हल्लिनुको कारण सिकारी जनावरबाहेक अरू नै केही हुन सक्छ। अनि आधुनिक समाजका विषय प्रायः जटिल र बहुपत्रे हुन्छन्; तिनलाई बुझ्न हाम्रो समय र मिहिनेत खोज्छन्। यही कारण ह्युरिस्टिक्स सधैं काम लाग्दैनन्, र अवधारणा वा तथ्य बुझ्न ती पर्याप्त हुँदैनन्। अ-विचार यसकारण जन्मिन्छ — इगो (अर्थात् आफूकेन्द्रित सोच) ले आफ्ना रायमाथिको चुनौतीलाई आफ्नै अस्तित्वमाथिको चुनौती ठानी गलत रूपमा दर्ता गर्छ, र यसले द्रुत चिन्तनलाई सक्रिय बनाउँछ — आक्रमण गर्न, विरोध गर्न, वा थप नसोची राय ठोक्न। राम्रो ज्ञान र राम्रो बुझाइका लागि ढिलो, असहज र मिहिनेत माग्ने चिन्तन पनि चाहिन्छ।
उदाहरणका लागि, खोप कसरी काम गर्छ भन्ने आधारभूत कुरा बुझ्न चाहनुहुन्छ भने तपाईंले मानव शरीरक्रिया विज्ञान, प्रतिरक्षा प्रणाली, सामूहिक प्रतिरक्षा (herd immunity), जनस्वास्थ्य, औषधि विज्ञान, नियन्त्रित परीक्षण (randomized controlled trials), अनुसन्धानका प्रकार र अर्थशास्त्रका कम्तीमा आधारभूत अवधारणा बुझ्नैपर्छ — घोकेर मात्र पुग्दैन। यसका लागि ढिलो र बढी सतर्क किसिमको चिन्तन चाहिन्छ, अनि वैज्ञानिक साहित्य र विज्ञहरूको साझा निष्कर्ष खोतल्ने प्रयास गर्नैपर्छ — जुन पढ्न निकै कठिन हुन सक्छ, र त्यसो हुनु स्वाभाविकै हो, किनभने ती जटिल विषयसँग जुधिरहेका हुन्छन्। खोपबारे कुनै पोडकास्ट वा ३० सेकेन्ड लामो आकर्षक भिडियोबाट बनेको द्रुत चिन्तनमा आधारित रायले तपाईंलाई खोप र प्रतिरक्षाका सिद्धान्त बुझ्न मद्दत गर्दैन। खोपबारे यस्तो बुझाइ नै नभएकी वा गलत बुझाइ भएकी कुनै साधारण आमा — कुनै पोडकास्टमा गएर खोपबारे त्रास फैलाउन थाल्छिन् भने त्यो कति जायज र कति इमानदार हो ? आफ्नो अविचारीपनको परिणामबारे उनी सचेत छिन् ? उनले कति जनाको ज्यानमाथि हानि पुर्याइरहेकी छन् ?
ढिलो चिन्तनले मिहिनेत माग्छ, ऊर्जा खपत गर्छ र समय लिन्छ। द्रुत चिन्तन सहजबोधी हुन्छ, मिहिनेत माग्दैन र हाम्रा भावनालाई तुरुन्तै छुन्छ; त्यसैले पहिलोबाट भन्दा यसैबाट निकालिएका निष्कर्षलाई हामी बढी विश्वास गर्छौं। ढिलो चिन्तनका लागि तालिम वा अभ्यास चाहिन्छ; द्रुत चिन्तन सजिलो र सहजबोधी हुन्छ। ढिलो चिन्तन असहज हुन्छ र आफू किन गलत हुन सक्छु भन्ने बुझ्न मद्दत गर्न सक्छ, तर द्रुत चिन्तनले प्रायः आफू सही छु भन्ने ठान्न लगाउँछ — प्रायः दृढ विश्वाससहित — गलत हुँदा पनि। ढिलो चिन्तनमा दख्खल भएपछि मात्र तपाईंको द्रुत चिन्तन पनि सँगसँगै सुध्रिन्छ। मेरो भनाइको आशय यही हो — द्रुत चिन्तनका लागि ढिलो चिन्तन त्याग्न मिल्दैन, किनभने दुवै हाम्रो संज्ञानका अपरिहार्य अङ्ग हुन्।
त्यसैले मुख्य कुरा के हो भने माथिका उदाहरण-वाक्य राम्ररी सोचिएका राय वा धारणा पटक्कै होइनन्। रोचक कुरा त के भने ती इन्जिनियर, चिकित्सक, नर्स, कम्प्युटर वैज्ञानिक र वकिलका हुन् — सबै आ-आफ्ना क्षेत्रमा सम्भवतः सक्षम व्यक्ति। तर मलाई यी राय निकै अपरिपक्व लाग्छन् — मेरो रायसँग नमिलेकाले मात्र होइन, बरु ती प्रश्न सोध्नुअघि नै पुगिएका निष्कर्ष भएकाले। यी त कसैका (वा सामाजिक सञ्जालको एल्गोरिदमले थमाएका) अनुमान वा सूचनालाई प्रश्न गर्ने अलिकति पनि प्रयास नगरी, र तिनको मुनि रहेको जटिल तथा बहुपत्रे धरातलीय यथार्थ बुझ्ने कोसिस नगरी, जस्ताको तस्तै स्वीकारेर बनेका राय वा धारणा हुन्। यसले देखाउँछ — बुद्धिमान् मानिस पनि द्रुत चिन्तनको सिकार हुन्छन्। तपाईंको डिग्रीले तपाईं कति राम्ररी आलोचनात्मक ढंगले सोच्न सक्नुहुन्छ भन्ने बताउँदैन। यी रायका धनीहरूले आफ्ना विचारमाथि जसरी प्रश्न गर्नुपर्थ्यो भन्ने मलाई लाग्छ, स्पष्टतः गरेका छैनन्। सायद यसरी गर्नुपर्थ्यो :
"प्रधानमन्त्रीमाथि किन प्रश्न गर्न पाइँदैन ? लोकतान्त्रिक ढंगले निर्वाचित पदाधिकारीलाई उनका विचार र कामका लागि जवाफदेह बनाउनु के अनुचित हो ? असल गर्ने नियतले सधैं असलै गर्छ त ?"
"अपार उपलब्धि हासिल गरेको कुनै सेलिब्रिटीको मृत्युले उसलाई उसका दुर्व्यवहारबाट मुक्त गर्छ ? एकअर्कासँग सम्बन्ध नभएका, स्वतन्त्र धेरै पीडितका आरोपलाई अदालतमा प्रमाणित नभएसम्म पटक्कै विचारै गर्नु हुँदैन ? अविश्वसनीय उपलब्धिले नराम्रो व्यवहारलाई माफी दिन्छ ? अद्भुत उपलब्धि हासिल गरेकै भरमा हामीले व्यक्तिपूजा गर्नुपर्छ ? कसैले असाधारण काम गरेकै कारण उसको अँध्यारो पक्षलाई बेवास्ता गर्नुपर्छ वा नदेखे झैं गर्नुपर्छ ?"
"गुरुहरूमाथि प्रश्न गर्न नपाइने हो भने उनीहरूका त्रुटिबारे हामीले कसरी थाहा पाउने ? के हामी गुरुहरूलाई अतिमानव ठानिरहेका छौं ? उनीहरू मानिस हुन् भने गलत पनि हुन सक्छन्; अनि उनीहरूका विचारमाथि प्रश्न नगर्ने हो भने उनीहरूका अनुमान र भ्रमलाई नै वास्तविक प्रमाण वा बुझाइ ठान्ने जोखिम मैले मोल्नु पर्दैन ?"
"'सनातन वैदिक धर्म' स्मृति र श्रुतिका भरमा पुस्तान्तरण हुँदै आएको मौखिक परम्परा हो भने केही कुरा गलत अनुवाद वा गलत सम्झना नभएका होलान् त ? स्मृति निर्दोष हुन्छ ? तिनका सम्भवतः अविश्वसनीय धारणालाई हामीले किन सत्य मान्नुपर्ने ?"
"पहिले त, ती धर्मशास्त्र आफैं कहाँबाट आए ? ब्रह्म नै 'परम सत्य' वा 'शुद्ध चेतना' हो भन्ने विचार वेद र उपनिषद्बाट आएको हो भने — ती कसले लेखे र उनीहरूलाई कसरी थाहा भयो ? उनीहरू गलत हुनै सक्दैनन् ? कसैले लेखेकै हो भने पनि उनीहरूले अनुमान गरेका छैनन् भन्ने विश्वास गर्ने के आधार छ ? उनीहरू अनुमान गरिरहेका होइनन्, बरु 'परम सत्य' भन्ने कुरा छ भनी जानिरहेका हुन् भने — आत्मगत सत्य भ्रामक हुन सक्छ भन्ने कुरा उनै मानिसले बुझ्दाबुझ्दै पनि त्यसलाई जान्ने एक मात्र उपाय आत्मगत माध्यम नै किन हुनुपर्ने ?"
"आलोचनात्मक चिन्तन 'पश्चिमी' सोच हो भने पश्चिमी प्रबोधनकालभन्दा धेरै शताब्दी अघि नै वैदिक दर्शनबाट अलग हुँदै चार्वाक, आजीवक, अज्ञान, बौद्ध र जैनका रूपमा पूर्वीय संस्कृतिमा श्रमण तथा वेदबाह्य (हेटेरोडक्स) आन्दोलन किन देखा परे ? आलोचनात्मक चिन्तन लाभदायक छैन र नकारात्मक सोच हो भने मानिसले तरकारी वा पुरानो कार किन्दा किन यही प्रयोग गर्छन् ? बिक्रेताले भनेकै कुरा तत्कालै पत्याएर उसले मागेकै मूल्य किन तिर्दैनन् ?"
"धर्म सधैं असल हुन्छ भने धर्मशास्त्रका व्याख्यालाई लिएर युद्ध किन हुन्थे ? धर्मशास्त्रलाई जोसुकैले जसरी पनि अर्थ्याउन सकिन्छ भने के त्यसले नैतिकता र आचारका लागि कमजोर जग बनाउँदैन ? मानिस नराम्रो र धर्म सधैं राम्रो हो भने अति धार्मिक देशको तुलनामा कम धार्मिक वा गैरधार्मिक देशका स्वास्थ्य, शैक्षिक र समृद्धिसम्बन्धी सूचकाङ्क किन उच्च छन् ? अनि यसको उत्तर 'दुवैको कारण सम्पन्नता हो' भन्ने हो भने, के त्यसैले 'समाजलाई असल बनाउने कुरा धर्म हो' भन्ने दाबीलाई आफैं कमजोर पार्दैन ? धर्मनिरपेक्ष परोपकारी संस्थाहरू अस्तित्वमै किन छन् त ?"
"खगोलीय एकाइको गणना साँच्चै हनुमान चालीसाले गरेको हो, कि त्यो एउटा भक्तिपरक श्लोकमाथि थोपरिएको आधुनिक व्याख्या मात्र हो ? त्यहाँ के-कस्तो गणना वा समीकरण दिइएको छ, कि त्यो अस्पष्ट शब्दमा लेखिएको हरफ मात्र हो ? त्यो कसले र कहिले लेख्यो ? योजन कहिल्यै निश्चित लम्बाइको एकाइ थियो त, कि सङ्ख्या मिलुन्जेल मानहरू पछाडिबाट मिलाइएका हुन् ? भनिएजस्तै त्यो सटीक र प्राचीन थियो त ?"
यी प्रश्नका उत्तर खोज्न समय र मिहिनेत लाग्छ। एक पटक खोज्ने विचार गरेर विभिन्न कोणबाट हेर्न थाल्नुभयो भने तपाईंले महसुस गर्न थाल्नुहुनेछ — वास्तविक उत्तर तपाईंले सुरुमा अनुमान गरेभन्दा केही फरक रहेछन्। एक कदम पछि हटेर आफूलाई शिक्षित गरेपछि तपाईंलाई खुसी लाग्नेछ — कि तपाईंले त्यो राय फलाक्नुभएन, त्यो पोस्ट लेख्नुभएन वा त्यो भिडियो बनाउनुभएन। बौद्धिक इमानदारी सही प्रश्न सोध्नबाट सुरु हुन्छ, कुनै विषयबारे आफ्नै धारणालाई चुनौती दिँदै अघि बढ्छ, अनि जुनसुकै व्याख्यामा होइन — सम्भव भएसम्मको उत्कृष्ट व्याख्यामा टुंगिन्छ।
तर मेरो मुख्य चिन्ता यही महसुस गर्नुमा छ — टिकटक गुरु र अर्बपति ट्विटर वैज्ञानिकहरूको यस युगमा मेरो यो लेख मानिसलाई सान्दर्भिक लाग्ला र ? कसैले यो पढ्ला पनि ? जे होस्, इमानदारीपूर्वक हामीले गर्न सक्ने सबैभन्दा आधारभूत काम भनेको पहिले सोच्नु, अनि प्रतिक्रिया दिनु हो — उल्टो होइन। अल्बर्तो ब्रान्डोलिनी (Alberto Brandollini) को नियम (Bullshit asymmetry principle — बकवास असमानताको सिद्धान्त) अनुसार, बकवास उत्पादन गर्न साँच्चै सजिलो छ, तर बकवासको खण्डन गर्न भने ठूलै ऊर्जा र समय खर्चिनुपर्छ।

